Thursday, March 7, 2013

इजरायलमा सलहको आतंक


सलह भन्ने फंट्याग्राले बाली नाली सखाप पार्ने गर्छ । सलहले बाली सखाप पारेका घटना हामीकहाँ पनि भएका छन् । अहिले मध्यपूर्वी एसियाली देश इजरायलमा सलहले आतंक मच्चाएका छन् ।
छिमेकी देश इजिप्टबाट उडेर आएका यी फट्ंयाग्राले बालीनाली सखाप पार्न थालेपछि अहिले इजरायलका लागि टाउको दुखाइ बनेको छ । सरकारले सलह नियन्त्रणका लागि कार्यदल नै बनाउनु परेको छ । सलह नियन्त्रणको आकस्मिक कार्य गर्नका लागि संकटकालीन हटलाइन सेवा संचालन गरिएको छ ।
झण्डै १० लाख सलह इजिप्टबाट उडेर आएको अनुमान इजरायल सरकारको छ । केही समयअघि इजिप्टमा ठूलै आतंक मच्चाएर कृषिबाली ध्वस्त पारेपछि सलहको बथान इजरायलतिर लागेको हो । इजिप्टमा झण्डै ३ करोड सलहले आतंक मच्चाएको र निकट भविष्यमा इजरायलमा पनि त्यत्तिकै संख्यामा सलह पुग्ने अनुमान गरिएको छ ।
सुरुमा एक रातभरमा इजिप्टबाट आएका सलहले २ हजार एक्कड मरुभूमि क्षेत्र ढाकेपछि सबै अचम्ममा परेका थिए । त्यसयता पनि ठूलो संख्यामा सलहका बथान इजरायल छिरेका छन् । इजरायल सरकारले यी फट्ंयाग्रा मार्न जहाजबाट विषादी छर्किन सुरु गरिसकेको छ ।
 

पाहुनाले खान मिल्ने दुलहीको पहिरन


विवाहमा दुलहीले लगाएको लुगता जन्ती तथा अरु पाहुनाले खान पाइने भएको छ । सुन्दै वाहियात लाग्ने कुरो के गरेको होला ? भन्ने लाग्नसक्छ, तपाइँलाई । कपडा त्यो पनि दुलहीले लगाएको कहीँ मान्छेले खान्छ ? हो, सामान्य लुगा मान्छेले खाँदैन, किनकी लुगा खानेकुरा होइन ।
तर एक जना बेलायतीले यस्तो बेहुली पहिरन तयार गरेका छन् जुन मज्जाले खान मिल्छ । बेलायतको बर्मिंघमका एक केक बेकरले ६ फुट लामो खान योग्य बेहुली पहिरन तयार पारेका हुन् । यो पहिरन कपडाबाट नभइ केक बाट बनेको छ । यसमा स्पन्ज केकका १७ पत्र प्रयोग गरिएको छ । साथै यो बनाउनका लागि २२ किलो चिनीको लेदोको बरफका १ सय वटा जति टुक्रा प्रयोग भएका छन् ।
यो बेहुली पहिरन २ हजार जना जम्मा पाहुनालाई खुवाउन मिल्ने बताइएको छ । डिजाइनर डोना मिलिंगटनले आफ्नी छोरीले बनाएको चित्र हेरेर आफुलाई यस्तो अचम्मको बेहुली पहिरन बनाउने लहड चलेको बताउँछन् । यो बेहुली पहिरन अब बर्मिंघमको राष्टिय विवाह प्रदशर्नीमा प्रदर्शन गरिनेछ ।
–एजेन्सीको सहयोगमा

महिला हिंसा अन्य गर्न प्रतिबद्ध प्रधानम

Prime Minister Babu Ram Bhattrai

२५ फागुन, काठमाण्डौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिला विरुद्ध हुने सबै प्रकारका हिंसालाई नियन्त्रण गर्न मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम नीतिगत एवम् कानुनी व्यवस्था समेत सरकारले गर्दै आएको बताउनुभएको छ । महिला अधिकार दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदि बहिनीहरुलाई शुभकामना दिनुहुँदै प्रधानमन्त्री भट्टराईले महिलामाथि हुने सबै विभेद हटाउँदै राज्यका संयन्त्रहरूमा महिलाको अर्थपूर्ण उपस्थिति गराउँदै लैजानु आजको आवश्यकता हो भन्नुभयो ।
महिलाहरूको प्रजननसम्बन्धी र स्वास्थ्यसम्बन्धी हक, पैतृक सम्पत्तिसम्बन्धी हकलगायत अन्य हकलाई सुरक्षित गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले महिलामाथि हुने सबैखाले हिंसा र अमानवीय व्यवहारको अन्त्य गरी लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९/०७०- ०७३/०७४ तर्जुमा पनि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो ।
उहांले महिला हिंसा नियन्त्रण गर्न सम्बद्ध निकायहरूबीच समन्वय गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लैङ्गिक सशक्तीकरण समन्वय एकाइ स्थापना गरी कार्य गर्दै आएको जानकारी गराउनुभएको छ ।

प्रमुख दलले आज सहमतिलाई अन्तिम रुप दिने


२५ फागुन, काठमाण्डौं । राजनीतिक निकासका लागि छलफल जारी राखेका प्रमसख दलका शीर्ष नेताहरुले आज सहमतिका प्याकेजलाई अन्तिम रुप दिने भएका छन् । प्रमुख चार राजनीतिक शक्ति एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुले दलहरुबीचको सहमतिलाई आज अन्तिम रुप दिने भएका हुन् ।
दलहरुबीच प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने बारेमा छलफल जारी रहेको छ भने, दलहरुबीच रहेका विवादका विषयमा पनि करिब करिब सहमित नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।
बिहीबार बसेको प्रमुख दलको बैठकबाट बाहिरीनेक्रममा नेताहरुले नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा बाहेकका विषयमा करिब सहमति भइसकेको दावी गरेका थिए ।
प्रमुख दलको बैठक अघि चार दल सम्मिलित कार्यदलको बैठक बसी साँझसम्ममा निकास निकाल्ने कार्यदलका सदस्य तथा एमाले नेता भीम रावलले जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बस्दैछ ।
कार्यदल र शीर्ष नेताबीच सहमति भए आज वा भोलिसम्ममा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको रुपमा शपथ खुवाउने तयारी दलहरुले गरेका छन् । प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिननहुनेभन्दै परेका दुई ओटा रिटको सुनुवाई भने चैत १ गत्तेको लागि सारिएको छ ।
यो समाचार पनि पढ्नुहोस् । 

खिलराजको मुद्दा चैत्र १ सम्म सर्‍यो


२४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ ।
जंगमद्वारा दायर रिट आज न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो । आज अन्तिम सुनुवाइ गर्ने भनए पनि अर्को यस्तै प्रक्रियाको मुद्दामाथि चैत्र १ गते सुनुवाइ हुने भएकाले दुबै मुद्दालाई एकसाथ विशेष इजलासबाट पेश गर्ने आदेश अदालतले गरेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर जंगमको जस्तै प्रकृतिको रिटमाथि सुनुवाइ चैत्र १ मा विशेष इजलासबाट हुँदैछ । अर्याल र जंगम दुबैका रिटमाथि १ गते सँगै सुनुवाइ हुने भएको छ । गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ ।
प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतत्वमा चुनावी सरकार बनाउन प्रमुख राजनीतिक दलहरु सैद्धान्तिकरुपमा सहमत भए पनि यसबारे अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा सबैले चासोपूर्वक हेरिरहेको अवस्थामा यो मुद्दा एक गतेलाई सरेको हो ।

दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला भृकुटीमण्डपमा


२५ फागुन, काठमाण्डौं । दोस्रो अन्तर्राष्ट्रिय ब्यापार मेला आजदेखि काठमाण्डौंमा सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरु हुने मेलाको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपरान्ह ४ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मेलामा नेपालसहित भारत, पाकिस्तान, भुटान, बंगालादेश, अमेरिकालगायतका देशहरुको सहभागीता रहने आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । विभिन्न देशका उत्पादन तथा सेवाको प्रर्दशनी गर्न चार सय वटा स्टलहरु राखिने महासंघले जनाएको छ । नेपाललाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङको रुपमा प्रर्वद्धन गर्ने लक्ष्यसहित महासंघले गत वर्षदेखि अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना गर्न थालेको हो ।
२९ गतेसम्म चल्ने मेलाले अन्तर्राष्ट्रिय स्तरमा व्यापारिक सम्बन्ध, व्यापार विस्तार, लगानी तथा प्रविधि प्रवद्धनमा सहयोग पुग्ने आयोजकको भनाई छ । मेलाको दुई लाख भन्दा धेरैले अवलोकन गर्ने र मेला अवधिभर झण्डै १५ करोड रुपैयाँको कारोवार हुने अपेक्षा उद्योग बाणिज्य महासंघको छ ।

आजदेखि गाडी चढे १५ रुपैयाँ तिर्नुपर्ने


२५ फागुन, काठमाण्डौं । सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका साधानको भाडा वृद्धि गरेको छ । वृद्धि गरिएको भाडादर अनुसार सार्वजनिक यातायातका साधनमा ९ प्रतिशतले वृद्धि भएको छ भने, मालबाहक सवारीका साधनको भाडा ११ प्रतिशतले बढेको छ । नयाँ भाडादर अनुसार उपत्यकामा सार्वजनिक सवारी चढ्ने यात्रुले गाडी चढ्ने वित्तिकै १५ रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै लामो दूरीमा यात्रा गर्नेले भने यसअघिको भाडामा ९ प्रतिशत बढाएर तिर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पाटपुर्जा र श्रमिकको ज्याला लगायतको वृद्धिका आधारमा सार्वजनिक गाडीमा भाडा बढाएको यातायात व्यवस्था विभागका प्रवक्ता देवीराम भण्डारीले जानकारी दिनुभयो ।
भाडा वृद्धिको बिरोध
सवारीका साधनमा भएको भाडा वृद्धिप्रति उपभोक्ता र अधिकारकर्मीहरुले बिरोध गरेका छन् । उनीहरुले अहिले वृद्धि भएको भाडा तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बर्षमा एक पटक भन्दा बढी भाडा वृद्धि गर्न नपाइने व्यवस्था भएपनि सरकारले ७ महिना मै उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी भाडा बढाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।