Sunday, February 10, 2013

सभागृहमा जुत्ता प्रदर्शनी

काठमाडौं, माघ २७ (नागरिक) - राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहको आँगनमा शुक्रबारदेखि दोस्रो 'राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी' सुरु भएको छ। 
आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको वातावरण, विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले उद्घाटन गरे। 
उनले सरकारले स्वदेशी उद्योग प्रवर्द्धनमा सहयोग गर्ने बताए। 
स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला गरिएको आयोजकले जनाएका छन्। मेलामा करीब ८० देखि ९० हजार दर्शक आउने लक्ष्य राखिएको छ। मेलामा विभिन्न सामग्रीका ६५ वटा स्टल रहेका छन्। मेलामा पछिल्ला उत्पादन र नयाँ मोडलहरु राखिएको आयोजकले जनाएका छन्। ६ महिना देखि १ वर्षसम्मको वारेन्टी तथा चप्पल र बच्चाका जुत्तामा १५ प्रतिशत र ठूला जुत्ताहरुमा २५ प्रतिशतसम्म छुट मेलामा पाइन्छ। जुत्ता चप्पल बाहेक ज्याकेट, ब्याग लगायतका सामग्री पनि मेलामा राखिएका छन्। मेलामा आउने मध्ये प्रत्येक दिन प्रवेश टिकटबाट लक्की ड्र मार्फत एकजनालाई नोकिया मोबाइल उपहार दिइने आयोजकले जनाएका छन्। मेलाको अयोजना नेपाल छाला जुत्ता उत्पादक संघले गरेको हो। 

जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन


पोष्टबहादुर बोगटी, महासचिव, नेकपा एमाओवादी
एकीकृत नेकपा माओवादीका नयाँ महासचिव पोष्टबहादुर बोगटी लडाकूको भ्रष्टाचारसम्बन्धी छानविन आयोगका प्रमुख समेत हुनुहन्थ्यो । नवनिर्वाचित महासचिव बोगटीसँग महाधिवेशनले लिएका निर्णय, समसामयिक राजनीति तथा भ्रष्टाचारको छानविनका सम्बन्धमा अनलाइनखबरले गरेको कुराकानी:
हेटौडा महाधिवेशनका खास उपलब्धी के-के हुन् ?
–पहिलो, नेपाली क्रान्तिको कार्यदिशालाई हामीले नयाँ ढंगले संश्लेषण गर्यौं । दोस्रो, शान्ति प्रक्रिया र पार्टी एकता प्रक्रियामा आइसकेपछि हाम्रो पार्टीको संरचना ठूलो हुँदै गएको थियो, त्यसलाई सुदृढ गर्ने निर्णय भयो । तेस्रो, कार्यक्रमिक रुपमा कसरी अगाडि बढ्ने भन्ने विधि तय भयो । राजनीतिकरुपमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान निर्माणका लागि छिटोभन्दा छिटो संविधानसभाको चुनावमा जानुपर्छ भन्ने कार्यक्रम महाधिवेशनले तय गर्यो । योभन्दा महत्वपूर्ण अर्को कार्यक्रम भनेको वर्ग संघर्ष र उत्पादन संघर्षलाई एक-अर्काका पूरक र सहयोगी बनाएर लानुपर्छ र यसका लागि उत्पादन संघर्षमा जोड दिनुपर्छ भन्ने निश्कर्ष निकालिएको छ । पार्टीको आन्तरिक जीवन र सिंगो राष्ट्रलाई पनि नयाँ दिशा दिने हिसाबले उत्पादन संघर्षलाई अगाडि बढाएर लानुपर्छ भनेका छौं । महाधिवेशनका मुख्य उपलब्धीहरु यिनै हुन् ।
–महाधिवेशनमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार बनाउनुपर्छ भन्नुभएको थियो । तर, अहिले होइन भनिँदैछ, वास्तविकता के हो ?
यसलाई हाम्रो विकल्पको श्रृंखलाबाट हेर्नुपर्छ । तेह्रौं चौधौं मात्रै होइन, भोलि पन्ध्रौं विकल्प पनि आउन सक्छ । काँही न काहीँ निकासको उपाय त खोज्नै पर्छ । विकल्प भनेकै उपायहरुको खोजी हो । पहिले हामीले हाम्रै विकल्प भन्यौं, दोस्रो गठबन्धनबाट हुनुपर्छ भन्यौं । तेस्रोमा स्वतन्त्र भन्यौं । त्यसमा पनि कुरा नमिलिसकेपछि हामीले प्रधानन्यायाधीशकै नेतृत्वमा जाऔं न त भनेका हौं । त्यो हामी सबैले विश्वास गरेको संस्था हो । यो हाम्रो निर्णय भन्दा पनि प्रस्तावमात्र हो । यसमा हुँदैन भने अब विपक्षी दलहरुले विकल्प ल्याउनुपर्छ । विपक्षीहरु माओवादीले कुरा फेरिरहन्छ भनिरहनुभएको छ, यसमा माओवादीलाई नियोजितरुपमा लघार्ने काम भैराखेको छ । तर, हामीले चाहेको निकास हो । यताबाट सहमति हुँदैन भने उताबाट पो हुन्छ कि भन्नेहरुलाई बोलीको ठेगान नभएको भन्न मिल्छ ? यी गलत आरोप हुन् । नेपाली कांग्रेसमा जडता देखिएको छ । संसदवादीहरुमा पनि जडता हुँदोरहेछ । लेनिनले यसलाई जडमतीय संसदवाद भन्नुभएको छ । आफू पनि विकल्प दिन नसक्ने, अरुले लिएर गएको विकल्पलाई पनि हुन्न भन्ने । कांग्रेसभित्रको यो प्रवृतिले अहिले उसैलाई बेफाइदा गरिराखेको छ ।
तर, कांग्रेसको गुनासो के छ भने तपाईहरुले नै सुशील कोइरालालाई उमेद्वार तोक्न लगाउनुभएको होइन ?
–सुशीललाई हामीले प्रस्ताव गर्न लगाएको होइन । एमालेले कांग्रेसलाई समर्थन गर्छौं भनिराखेको थियो । कांग्रेसले उमेद्वार बनाइराखेको थिएन । हामीले त उमेद्वार दिएका थियौं । त्यसैले यो हाम्रो कुरो थिएन, एमालेको कुरो थियो । कांग्रेसले सरकारको जिम्मा लिन चाँहदैन कि क्या हो भन्ने कुरा हामीबाट भएकै हो । तयार हुनुहुन्छ भने उमेद्वार दिनोस् भन्ने कुरा हामीले गरेका हौं । गौशालातिर बसेको बैठकमा माधव नेपालले के भन्नुभयो भने कांग्रेसले उमेद्वार दिँदैन भने एमालेले उमेद्वार तोक्छ । त्यसपछि यो प्रक्रिया अगाडि आएको हो । यसमा पनि सुशील प्रधानमन्त्री बनाउनलाई हुँदैन भन्ने हाम्रो भनाइ हैन, प्याकेजमा सहमति हुनुपर्यो भन्नेमात्रै हो । सुशीलजीले बाहिर जे अभिव्यक्तिहरु दिइराख्नुभएको छ, त्यसले पनि अलिकति अप्ठ्यारो पारेको छ । समग्र एजेन्डामा सहमति हुन्छ भने हामीले कांग्रेसको नेतृत्व स्वीकारिसकेपछि सुशील हुन्न, फलानो हुन्छ भन्न मिल्दैन । तर, मुख्य प्रश्न प्याकेजमा सहमति हुनुपर्‍यो । प्याकेजमा वहाँहर सहमति गर्न मान्नुहुन्न, यो सरकार हट्नुपर्छ मात्रै भनिरहनुभएको छ । तर, जबसम्म दलहरुवीच सहमति हुन्न, त्यतिवेलासम्म यो सरकार हट्ने परिस्थति नै छैन । अन्दोलनले नै पल्टाए बेग्लै कुरा । जसले जे भने पनि यो सरकार संवैधानिक सरकार हो । अर्को निर्वाचन पनि यही सरकारले गराउनुपर्ने हो । संविधान संशोधन नगरी अर्को सरकार बन्नै सक्दैन । मलाई के लाग्छ भने अहिले कांग्रेस, एमालेका नेताहरु जे गरिरहनुभएको छ, यसबाट उहाँहरु चुनाव चाहनु हुन्न भन्ने देखिन्छ ।
विपक्षीले एमाओवादीलाई सरकारमै राखेर बद्नाम गराउन चाहिरहेका त होइनन् ?
–हामीले यो पनि एनालाइसिस गरेका छौं र यसप्रति सतर्क छौं । सरकार सञ्चालन गर्ने मनसाय अहिले वहाँहरुको छैन । वहाँहरुको मानसिकता भनेको कसरी माओवादीलाई बद्नाम गर्ने भन्नेमात्रै रहेको छ । यो वहाँहरुको खुट्टा तान्ने प्रवृत्ति हो । यस्तो लघुताभास बोकेर कुनै पनि पार्टीले राजनीति गर्नुहुँदैन । हामीले यसबारेमा सोचेका छौं । हामी यसलाई काउन्टर गर्न जनहितका कार्यक्रम बढाएर लैजान्छौं ।
दलहरुले दुईदिनमा सहमति नगरे राष्ट्रपतिले कदम चाल्ने भन्ने सुनिन्छ नि ?
–राष्ट्रपतिलाई अन्तरिम संविधानले जुन भूमिका दिएको छ, उहाँले त्यसमा तल-माथि गर्नुहुन्न भन्ने हामीलाई विश्वास छ ।
महाधिवेशनले केही महत्वपूर्ण विवादहरु हल गरेको देखिएन, जस्तै- राष्ट्रियताको विषयमा ६ महिनापछि विस्तारित बैठक बोलाउने भनिएको छ । यसलाई महाधिवेशनले किन टुंगाउन नसकेको ?
–पहिले हामी अलग-अलग पार्टीमा रहेकाले बुझाइमा केही जोड र कोण फरक पर्नु स्वाभाविकै हो । आधारभूत बुझाइ एउटै हुँदाहुँदै पनि यसलाई कतिबेला, कसरी प्रयोग गर्नेबारे आ-आफ्ना जोड र कोणहरु अलग-अलग हुन सक्छन् । हामीले आन्तरिक राष्ट्रियतालाई पनि सुदृढ बनाउनुपर्छ र बाह्य राष्ट्रियताको आन्दोलन पनि सकियो भन्ने होइन । तर, आन्दोलनको रुप कस्तो बनाउने र केलाई जोड दिएर अगाडि बढ्ने भन्नेमुख्य कुरा हो । यस विषयमा हामीवीच थोरै छलफल नपुगेको देखियो । पुँजीवादी-जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिमा जाने भन्नेवित्तिकै जनवाद र राष्ट्रियता एक अर्कासित अन्तरसम्बन्धित हुन्छन् । यो बुझाइमा हाम्रो एकमत छ । तर, कसरी जाने त भन्नेबारेमा अलिकति छलफल गर्न जरुरी देखियो ।
जोड-कोण नमिलेको विषय के हो ? उपाध्यक्ष नारायणकाजीले राष्ट्रियताबारे कस्तो फरक विचार राख्नुभएको छ ?
यसलाई क्रियान्वयन कसरी गरिन्छ भन्नेमा छ । राष्ट्रियताको आधारभूत बुझाइमा हाम्रो अन्तर हैन, तर यसको व्याख्या र क्रियान्वयन कसरी गर्ने भन्नेमा थप छलफलको आवश्यकता महसुस गरिएको मात्र हो । अलग्गै डकुमेन्ट ल्याउँछु त भन्नुभएको होइन, तर प्रकाशजीहरुले अहिले बिप्पालाई उठाइराख्नुभएको छ । र, भारतसँगको डिलिङ कसरी गर्ने भन्नेबारे उहाँसँग केही जिज्ञासाहरु छन् । आधारभूत बुझाइमा मतभेद नभए पनि यसलाई कसरी क्रियान्वयन गर्ने भन्नेबारे थप छलफल र थप व्याख्या गरौं भनेर विस्तारित बैठक गर्ने भनिएको हो ।
राष्ट्रियताको विषयमा महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको भनाइ के थियो ?
–उहाँहरुको प्रश्न थियो, पार्टी नेताहरुले फरक-फरक धारणा व्यक्त गरिराख्नुभएको छ, यो के हो ? कतै पार्टीले राष्ट्रिय स्वाधीनताको मुद्दा छाड्न लागेको त होइन भन्ने वहाँहरुमा जिज्ञासा थियो । यसमा हामीले स्वाधीनताको आन्दोलन छाडेको हैन । तर, कसरी अगाडि जाने भन्नेबारे थप छलफल जरुरी भयो, यो छलफल गर्छौं भनेपछि फेरि हाउस सन्तुष्ट भयो ।
लडाकू कमान्डरबाट भएको भ्रष्टाचारबारे छानविन गर्न गत साउनमा यहाँकै नेतृत्वमा छानविन समिति बनाएको थियो, त्यसको प्रतिवेदनमा पनि कार्यकर्ताले चित्त बुझाएनन् नि ?
–हामीले रिपोर्ट प्रस्तुत गरिसकेपछि केही साथीहरुले त्यहाँ प्रश्न उठाउनुभयो । त्यसलाई हामीले प्रष्ट पनि गर्यौं ।
भनेपछि कमान्डरहरुले भ्रष्टाचार गरेका रहेनछन् हैन त ?
–जसरी सरकारी लेखा प्रणाली हुनुपर्ने हो, त्यसैगरी सबै लेखा प्रणाली सेट भयो भन्ने त होइन । तर, पछिल्लो कालखण्डसम्म पनि शिबिरमा एउटा ढंगले हिसाबहरु गैराखेको थियो । पछिल्लो कालखण्डमा शिबिरभित्र जुनखालका अस्तव्यस्तताहरु भए, त्यसबाट केही आशंकाहरु पनि जन्मिए र केही कमीहरु पनि देखिए । यसबारे हामीले छानविन गर्यौं र कमीहरु कहाँ-कहाँ रहेका छन् भने रिपोर्ट दियौं । प्रवृत्तिगत रुपमा पनि कस्ता कमजोरी देखिए भन्ने हामीले रिपोर्ट दिएका छौं । तर, साथीहरुको भनाइ चाँहि महाधिवेशनमै त्यो सबै पेश गर्नुपर्छ भन्ने थियो, त्यो चाहिँ सम्भव हुँदैनथ्यो । किनभने केन्द्रीय समितिले समग्र छलफल गरेर निश्कर्षमा पुग्नुपथ्र्यो । यही कुरा हामीले त्यहाँ प्रष्ट गर्यौं । हामीलाई विश्वास छ, यसमा साथीहरु सन्तुष्ट हुनुभएको छ ।
पार्टीभित्रमात्रै सन्तुष्ट भएर भएन, बाहिर पनि सन्तुष्ट पारिदिनुपर्यो । १२ जना लडाकू कमान्डरले राजीनामा पनि दिइसकेका थिए । उनीहरुलाई कारवाही गर्नुपर्ने स्थिति हो कि हैन ?
–पार्टीलाई छानविनमा सजिलो पार्ने उद्देश्यका साथ १२ जना साथीहरुले राजीनामा दिन्छौं भन्नुभएको थियो । तर, जनमुक्ति सेनाका कमान्डरहरुको मूल्यांकन आंशिक घटनालाईमात्रै लिएर गरिनु हुँदैन । हामीले वहाँहरुलाई राजीनामा नदिनोस् भन्यौं । पहिले आयोग बनाऔं र कमी कमजोरी भएको रहेछ भने तपाईहरुले हट्नुपर्ने हुन्छ । होइन भने पार्टीले निर्णय लिन्छ, दोषी देखिए कारवाही हुन्छ भनेका थियौं । अहिले उठेको प्रश्न व्यक्तिगत भन्दा पनि जनमुक्ति सेनाको छविसँग जोडिएको विषय हो । यो हाम्रो पार्टीको समस्या हो ।
छानविन गर्दा उनीहरुलाई कारवाही गर्नुपर्ने देखिएन ?
–पछिल्लो कालमा अलि अस्तव्यस्तताको समयमा कमान्डरहरुले तलैबाट आ-आफ्नो ढंगले निर्णय गरेर गएको स्थिति पनि देखियो । त्यसले पनि केही कन्फ्युजनहरु पैदा गरेको निश्चित रुपमा छन् ।
आर्थिक हिनामिना नै भएको रहेछ कि छैन ?
–हिनामिना नै भनेर त त्यतिधेरै छैन । तर, स्वविवेकले निर्णयहरु गर्ने क्रममा चाहिँ अलिकति केही तलमाथि भन्दा पनि केही अस्तव्यस्तता र अनियमितताहरु देखिएको छ ।
छानविनमा परेकाहरुलाई छानविन नसकिँदै केन्द्रीय समितिमा ल्याइयो भन्ने गुनासो पनि सुनिन्छ नि ?
–मैले अघि नै राखिसकें । जनमुक्ति सेना र त्यसका कमान्डरहरुको समग्र इतिहास हेर्नुपर्छ । कमजोरी कमजोरी नै हुन्छ, योगदान योगदान नै हुन्छ । कमजोरीलाई योगदानले कटाउन त भएन । तर अहिलेचाहिँ यसबारे समग्र छलफल गरेर निर्णयमा नपुगिराखेको स्थितिमा अहिले वहाँहरुलाई केन्द्रीय समितिमा राखेर नजाँदाखेरि राम्रो म्यासेज जाँदैन । भोलि रिपोर्टले जे कारवाही गर्नुपर्छ भन्ला, त्यो आधारमा गरौंला । वहाँहरुलाई यो कुरो प्रष्ट गरिएको छ ।
उसोभए अहिले केन्द्रीय समितिमा परेका पूर्वकमान्डरहरुमाथि भोलि कारवाही पनि हुन सक्छ ?
–वहाँहरुको कमीकमजोरीका आधारमा स्तर अनुसारको कारवाही त हुन्छ, हुनैपर्छ ।
कतिपय पीएलएकै नेताहरुले पनि अनियमितताको प्रमाण छ भनिरहेका छन्, तपाईहरुले त्यस्तो पाउनुभएन ?
–हाम्रा प्रतिपक्षीहरुले राजनीतिक ढंगले जुन कुराहरु उठाएका छन्, यो चाहिँ ‘स्टन्ट’ हो भन्ने लाग्छ । किनभने जनमुक्ति सेना अहिले सरकारले दिएको पैसामा मात्रै अरबौंमा खेलेन । जनयुद्धमा सबैभन्दा बढी खर्च सेनाबाटै हुन्थ्यो । लजिस्टिकदेखि लिएर व्यवस्थापनसम्मको समग्र मुभ त आखिर जनमुक्ति सेनाअन्तर्गत नै थियो । म आफैंले पश्चिम कमान्डमा आउँदाखेरि मकहाँ अरबौं रुपैयाँ केन्दि्रत हुन आउँथ्यो । महिनामा आठ/दश करोड रुपैयाँ भनेको त सामान्य कुरा थियो । लडाइँ त आखिर खर्चिलै हुन्छ नि । आम्दानीको ६०/७० प्रतिशत सेनामै जान्थ्यो । त्यसकारणले कमान्डरहरु अहिले पैसा पाएर यस्ता भए भन्ने होइन, त्यो बेलामा पनि त्यसरी नै सञ्चालन हुन्थ्यो । त्यसैले अहिले बाहिर जनमुक्ति सेनाले यो गर्यो, त्यो गर्यो भन्ने जुन कुरा आइरहेको छ, योचाहिँ सिंगो जनमुक्ति सेनामाथिको अपमान हो भन्ने हामीलाई लाग्छ । यसभित्र ‘पोलिटिक्स’ छ भन्ने लाग्छ । तर, जहाँसम्म त्यहीँभित्र भएका अन्याय, अनियमितता र पार्टी नीति विपरीत भएका क्रियाकलापमाथि हामीले छानविन गरिराखेका छौं । यसलाई मैले महाधिवेशनमा सामान्य प्रस्तुत गरें । तर, केन्द्रीय समितिले यसलाई टुंगो नलगाउँदासम्म मैले गोपनीयतामा राख्नुपर्ने हुन्छ ।
अब प्रशंग बदलौं, महाधिवेशनले २ सय ४० जनालाई घटाएर ९८ जनालाई मात्रै केन्द्रीय सदस्य बनाएपछि धेरै व्यक्तिहरु असन्तुष्ट बनेका छन् भन्ने सुनिन्छ नि ?
–संगठन भनेको सन्तुष्टि र असन्तुष्टिकै वीचबाट बन्ने कुरा हो । हामीले १ सय ५१ जना पूर्ण सदस्य र १ सय ४९ जना वैकल्पिक सदस्यसहितको केन्द्रीय समिति बनाऔं, जसबाट भोलि नेतृत्व विकासमा पनि सजिलो हुन्छ भन्ने प्रस्ताव आयोजक समितिमा लग्यौं । तर, पार्टीलाई चुस्त बनाउने हिसाबले सोचियोस् भन्ने सुझाव आएपछि एक दिन हाम्रो महाधिवेशन लम्बियो । एकताको भाव नबिगि्रयोस् तर, एकताका नाममा पार्टीलाई बिगार्ने काम पनि नहोस् भन्ने सुझावहरु आए । यी सुझाहरुलाई कदर गर्दै हामीले विधानमा पनि अलिकत संशोधन गरेर वैकल्पिक सदस्यहरु केन्द्रीय समितिले नै राख्नसक्ने म्यान्डेट लिइसकेपछि हामीलाई विश्वास छ, साथीहरु कोही पनि असन्तुष्ट हुनुहुन्न । बरु फेरि पनि नेतृत्वले माथि बसेर उदारवादी हिसाबले पो काम गर्ने हो कि, पार्टी चुस्त हुन्न कि भन्ने चाँहि साथीहरुलाई शंका लागेको हुनसक्छ ।
अब ५२ जना केन्द्रीय सदस्यहरु कसरी मनोनयन गर्नुहुन्छ ? आयोजक समितिको सूचिमा रहेको रोलक्रम अनुसार नै मनोनयन गर्नुहुन्छ या त्यसभन्दा बाहिरबाट पनि ल्याउनुहुन्छ ?
–त्यो ‘नम्बरिङ’ पार्टीले बैठकै बसेर गरेको होइन । त्यसैले कोही आयोजक समितिका पनि पर्लान्, केही बाहिरबाट पनि ल्याइन्छ । आम्रो आधारभूत सिद्धान्त भनेको ‘भ्याङगार्ड’ -अग्रदस्ता) पार्टी निर्माण गर्ने हो । अहिले हामीले लिएको कार्यदिशालाई कार्यान्वयन गर्दाखेरि हामीले समावेशितालाई पनि ध्यान दिनुपर्छ । त्यसैले तत्तत् क्षेत्रका भेन्गार्डहरुलाई लिइनेछ । महिला क्षेत्रका अगुवा, मधेसी क्षेत्रका अगुवा, दलित अगुवा त्यस्तै जनजाति क्षेत्रका अगुवाहरुबाट छनौट गरेर हामी यो कमिटीलाई पूर्णता दिन्छौं । महिलालाई हामी विशेष प्राथमिकता दिनेछौं । पिछडिएको क्षेत्र, दलित र जनजातिलाई पनि हेरिने छ र केही सिनियरलाई पनि हेरिने छ । कम्पोजिसनमा जाँदाखेरि ‘जेनेरेशन ग्याप’ नहोस् भन्नका लागि हामीले ‘थ्री इन वान’ भन्ने गरेका छौं ।
केन्द्रीय कमिटी कहिले पूर्ण हुन्छ ?
–फागुन १ गते घोषणासभा सकिएपछि गृहकार्य गर्न थाल्छौं । सम्भवतः फागुनको पहिलो सातासम्म हामीले एउटा मोटामोटी खाका तयार गर्न सक्छौं भन्ने लाग्छ ।
प्रचण्डको उत्तराधिकारी बनाउने कुरा आएको थियो, उहाँको उत्तराधिकारी को हो ? उपाध्यक्षहरु हुन् कि महासचिव ?
–हामीले एक्काइशौं शताब्दीको जनवाद भनेका छौं । विश्व कम्युनिष्ट आन्दोलनमा हामीले के देख्यौं भने एउटा लिडर छउन्जेल केही नहुने, अनि ऊ मरिसकेपछि प्रतिक्रान्ति हुने । दोस्रो के भने एउटा नेता नमरुन्जेलसम्म पदमै रही राख्ने । यही भएर हामीले वैकल्पिक नेतृत्वको विकासमा पनि सोच्नुपर्छ भन्ने निश्कर्ष निकालेका छौं । त्यस्तै संघर्षमा त नेतृत्व दिएर जान सक्ने तर सत्तामा गैसकेपछि प्रतिक्रान्ति हुँदा पनि केही गर्न नसक्ने स्थिति पनि देखियो । त्यसैले एउटा पङ्ती जनतासँग गाँसिइराख्नुपर्ने र एउटा पङ्तीले सरकार सञ्चालन गर्नुपर्ने हिसाबले हामीले सोचेका छौं । हाम्रो भनाइ के हो भने हजारौं लिडरशीपको पङ्ती तयार गर्नुपर्छ । त्यसकार यसको रणनीतिक महत्व छ ।
कोरियातिरको जस्तो उत्तराधिकारी बनाउने भनिएको त होइन ?
–त्यस्तो होइन । हामीले यसबारेमा पनि समीक्षा गरेका छौं । माओ यस्तो अवस्थासम्म पार्टीमा रहनुभयो, जतिबेलासम्म उहाँले बोलेको केही पनि बुझिँदैनथ्यो । उहाँ सासले मात्रै बोल्नुहुन्थ्यो र एउटा यन्त्रमार्फत् माओले यो बोल्नुभएको हो भनिन्थ्यो । त्यस्तो अवस्थासम्म पनि माओ किन बसिराख्नुपरेको ? यस्तो स्थितिलाई हामीले कसरी व्यवस्थापन गर्ने प्रश्न छ । उत्तर कोरियामा हेर्ने हो भने त्यहाँ वंशाणुक्रम आयो । यो दुबैबाट हामीले सिक्नुपर्यो र अगाडि बढ्नुपर्यो ।
महाधिवेशनमा प्रचण्डले अब १० वर्षपछि राजनीति गर्दिँन भन्नुभएको हो ?
–वहाँले पार्टीको नेतृत्व गर्नुभएको २४ वर्षभन्दा बढी भयो । यसमा हामी अहिले छलफल गर्दैछौं । कसरी हामी लिडरसिप सहज ढंगले हस्तान्तरण गर्न सक्छौं ? स्टालिनले आफ्नै केन्द्रीय समितिका सदस्यलाई फाँसी दिनुपर्ने परिस्थिति जुन बन्यो, यो सबै लिडरशीपमा समस्याहरु हुन् । उत्तराधिकारी को बन्ने भन्ने कुरा व्यक्ति भन्दा पनि आवश्यकताले निर्धारण गर्ने कुरा हो ।

के छापियो सोमबारका दैनिक पत्रिकामा ?


आज मिति २०६९ साल माघ २८ गते सोमबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले एमाओवादी र कांग्रेस-एमालेवीच निणर्ायक वार्ता हुन लागेको, प्रधानमन्त्री र राष्ट्रपतिवीच बिकल्पबारे छलफल हुंदा प्रधानमन्त्रीले प्रधानन्यायाधीशकै पक्षमा जोड गरेको, एमाओवादी अध्यक्ष प्रचण्डले गिरिजाबाबुजस्तो राजनीतिक पार्टनर खोजीरहेको बताएको लगायतका खवरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले बिकल्पमा छलफल गर्न बिपक्षी राजी भएको खवर छापेको छ भने नागरिक दैनिकले एमाओवादी अध्यक्ष प्रचण्डले यही अबस्था रहे निरंकुशता आउने बताएको खवरलाई प्राथमिकताका साथ छापेको छ । नयां पत्रिका दैनिकले पारस डिप्रेसनको सिकार भएको खवर छापेको छ ।

खिलराजको मौनताले झस्किए न्यायाधीश, जयन्त छिरेपछि बोली फेरियो



२९ माघ, काठमाण्डौं । एमाओवादीले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि यतिबेला सवैका आँखा रेग्मीमाथि छन् । उनले के प्रतिक्रिया जनाउने हुन ? उनीसँग छलफल भएर माओवादीले प्रस्ताव गरेको हो कि हैन ? यो प्रस्ताव माओवादीको मात्रै हो कि मुख्य चार दलको भित्री सहमति हो भन्ने बिषयमा ब्यापक टिप्पणी भइरहेको छ । तर, प्रधानमन्त्रीमा प्रस्तावित प्रधानन्यायाधीश रेग्मी भने बधाई दिनेलाई धन्यवाद भन्दै मौन बस्नुभएको छ ।
प्रधानन्यायाधीशको मौनताले गम्भिर शंका खडा गरेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । ‘संविधानसभाको म्याद नथप्न भनी मुलुकलाई जनप्रतिनिधिविहीन बनाउने फैसला गर्नु, त्यही फैसलाको आडमा एमाओवादी र मधेशी मोर्चाले संविधानसभा भंग गर्नु र अहिले आएर एमाओवादीको महाधिवेशनबाटै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्नु यदी यी सबै संयोगमात्र होइनन् भने मुलुक नियोजित सत्ता कब्जाको शिकार बन्ने बाटोमा अघि बढेको छ ।’ समाचारमा भनिएको छ ।
५ जनामा सीमित भएको सर्वोच्च अदालतलाई खाली गर्दै बैधानिक सत्ता कब्जा गर्ने बाटो प्रशस्त गर्न खिलराज रेग्मीलाई प्रधानमन्त्रीको प्रलोभन दिइएको हो कि रेग्मीसँग सल्लाह गरेरै एमाओवादीले यो निर्णय गरेको भन्ने प्रश्न उब्जीएको समाचारमा उल्लेख छ ।

युद्धबाट सत्ता कब्जा गर्न असफल भएको एमाओवादीले तत्कालीन राजा र बैधानिक दलहरुबीचको अन्तरद्धन्द्धको फाइदा राम्रैसँग लिएको हो । यसबीचमा आफ्नो एकपछि अर्को दाउपेच सफल भएपनि एकलौटी सत्ता कब्जा गर्ने प्रयास विफल भएपछि जनप्रतिनिधिमूलक संस्थासंविधानसभा भंग गरियो । तर सरकारका असंवैधानिक र निरंकुश अनि विवादास्पद निर्णयहरु अदालतले रोकिदिएपछि एमाओवादीका लागि अदालत सबैभन्दा ठूलो दुश्मन र बाधक बनेको स्पष्टै छ । प्रतिशोध लिने क्रममा अस्थायी न्यायाधीशहरुलाई स्थायी हुन नदिएर सर्वोच्च अदालतलाई रिक्त बनाएको एमाओवादीले एक्कासी प्रधानान्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव ल्याउनु र यो विवादास्पद प्रस्तावका बारेमा यति ठूलो प्रतिक्रिया आउँदा पनि प्रधान न्यायाधीश रेग्मीको कुनै प्रतिक्रिया नआउनुले आशंका गर्नेहरुलाई ठाउँ मिलेको छ ।
‘संविधानले नै किटानी व्यवस्था गरेको अवस्थामा संविधान संशोधन गरेर संविधानसभाको म्याद थप्न मिल्दैन भनेर ऐतिहासिक संविधानसभाको म्याद थप्ने प्रस्तावका विरुद्ध निषेधाज्ञा जारी गर्ने प्रधान न्यायाधीशले संविधानले नै निषेध गरेको र लोकतान्त्रिक मूल्यपद्धति तथा संविधानवादका विरुद्ध रहेको प्रधान न्यायाधीशको अध्यक्षमा मन्त्रिपरिषद् गठन गर्ने एमाओवादीको प्रस्तावका सन्दर्भमा अहिलेसम्म किन नबोलेका होलान ?
न्यायाधीश नि झस्किए !
प्रधान न्यायाधीश खिलराज रेग्मीको भूमिकाबारे बाहिर प्रश्नचिन्ह खडा भईरहेका बेला रेग्मीको एउटा भनाइले सर्वोच्च अदालतका न्यायाधीशहरु नै छक्क परेका छन् । एमाओवादीको महाधिवेशनले रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि न्यायपालिका विवादमा परेको र काम गर्न अप्ठेरो पर्ने भन्दै माघ २६ गते शुक्रबार प्रधान न्यायाधीशलाई भेट्न उहाँकै कार्यकक्षमा जम्मा भएका थिए । बरिष्ठतम न्यायाधीश दामोदर शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, रामप्रसाद साहलगायतले न्यायपालिका विवादमा पर्दा काम गर्न अप्ठेरो पर्ने भन्दै यसमा स्पष्ट धारणा आउनुपर्ने बताएका थिए । तर प्रधानन्यायाधीश रेग्मीले भने ‘त्यसो म छुट्टी बस्छु तपाईहरु चलाउनुस’ भन्ने जवाफ दिए । रेग्मीको अनपेक्षित जवाफबाट तीनचीत खाएका न्यायाधीशहरु उहांको रवैया देखेर झस्किएको सांघुले छापेको छ ।
जयन्त छिरेपछि बोली फेरियो
एमाओवादीको पछिल्लो प्रस्तावमा भारतीय इशारा रहेको चर्चा चलिरहेका बेला माघ २७ गते बेलुका राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुअघि एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय राजदूतसँग सल्लाह गरे । हेटौंडाबाट चितवन हुँदै माघ २७ गते काठमाण्डौं भित्रिएका प्रचण्ड आफ्नो निवास लाजिम्पाटका साँझ साढे ६ बजे छिरे लगत्तै बाबुराम भट्टराई प्रचण्ड निवास छिरे । त्यसलगत्तै भारतीय राजदूत जयन्तप्रसाद पनि झन्डा हल्लाउँदै प्रचण्ड निवास छिरे । काँग्रेस नेता अमरेशकुमार सिंह पनि प्रचण्ड निवास छिरेपछि त्यहाँ करिब डेढ घन्टा गोप्य छलफल भयो । छलफल लगत्तै राष्ट्रपति भवन पुगेका प्रचण्डले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफ्नो पार्टीको महाधिवेशनबाट पारित नभएको भन्दै यसको विकल्पमा जान तयार रेको प्रतिक्रिया दिए । उनले राष्ट्रपति र विपक्षी दलका नेताहरुलाई पनि अन्य विकल्पमा जान तयार रहेको बताए ।