म्यान युलाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा
२३ फागुन, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई हराउँदै स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा इङ्लिस क्लब युनाइटेडलाई २–१ ले पराजित गरेको रियल मड्रिड समग्रमा ३–२ ले विजयी भयो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
घरेलु मैदान वल्र्ड ट्राफडमा भएको खेलमा अग्रता म्यानचेष्टर युनाइटेडले उपहार गोलबाट लिएको थियो । ४८ औं मिनेटमा रियलका सर्जिओ रामोसको आत्मघाति गोल गरेपछि युनाइटेडले अग्रता लियो । तर, ५५ औं मिनेटमा एल्भारोलाई लडाएपछि नानीले रातो कार्ड खाए र म्यान यु १० खेलाडीमा सिमित भयो ।
त्यसको फाइदा उठाउँदै रियलले ६६ औं मिनेटमा बराबरी गोल फर्कायो । लुका मर्डिकले रियलका लागि बराबरी गोल गरेका हुन् । त्यसको तीन मिनेटमा नै क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लवविरुद्ध गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
खेलपछि रियल मड्रिडका प्रशिक्षक जोशे माउरिन्होले उत्कृष्ट टोली प्रतियोगिताबाट बाहिरिएको प्रतिक्रिया दिए । म्यान युका प्रशिक्षक एलेक्स फुर्गसनले भने कुनै प्रतिक्रिया दिन मानेनन् ।

No comments:
Post a Comment