Social News


फोरमको बन्दले आज पनि जनजीवन प्रभावित

२४ फागुन, काठमाण्डौं । उपेन्द्र यादब नेतृत्वका संघीय लोकतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज पनि देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपा-माओवादी नेतृत्वमा रहेको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले बुधबार गरेको बन्दसाँझदेखि खुले पनि आज लगत्तै भएको बन्दका कारण नागरिकहरुलाई थप सास्ती परेको छ ।
बन्दका कारण मुख्य सहर तथा राजमार्गमा सवारीका साधन चलेका छैनन् भने राजधानीका सडकहरुमा पनि सार्वजनिक यातायातका साधन गुड्न सकेका छैनन् ।
राजनीतिक निकास निकाल्ने बहानामा चारदलले मनोमानी गरेको, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने भन्दै आज बन्द आव्हान गरेको मोर्चाले जनाएको छ ।
बन्दले गाडी नचल्दा विशेष कामले टाढा पुग्ने यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन भने लगातारको बन्दका कारण परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई थप मार परेको छ ।
बन्दका बेला हुनसक्ने घटनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था भने मजबुद बनाइएको छ । सहरका चोक चोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ रहेका छन् ।

राष्ट्रपतिले भने- ‘कोर्स अन्तै गयो, पुनर्स्थापनाको कुरै नगरौं


२३ फागुन, काठमाडौं । संबिधानसभा पुनर्स्थापना नै एकमात्र उपाय भएको भन्दै भेट्न पुगेका संघीय समाजबादी पार्टीका नेताहरुलाई राष्ट्रपति रामबरण यादवले पुर्नस्थापनाको कुरै नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार भएको भेटमा संघीय समाजवादी पार्टीका नेताहरुले संविधानसभा पुनर्स्थापनाको माग गरेपछि राष्ट्रपतिले प्रमुख दलहरु तयार नभएको र संविधानमा पनि टेक्ने कुनै आधार नभएको भन्दै अब संविधानसभा पुनःस्थापना हुन नसक्ने बताउनु भयो ।
‘संविधानसभा पुनर्स्थापना गरेर अघि बढ्न माग गर्दै हामीले भेटेका हौं’ कार्यबाहक अध्यक्ष विजय सुव्वाले अनलाइनखबरसँग भन्नुभयो-’पुनर्स्थापनाका लागि प्रमुख दलहरु सकारात्मक छैनन् र प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउन नयाँ शिराबाट छलफल सुरु भयो भनेर अस्वीकार गर्नुभयो ।’ भेटमा संघीय समाजवादी पार्टीका नेताहरुले भने बाधा अड्काउ फुकाएर संविधान संशोधन नगर्न र गैरदलीय सरकार नबनाउन माग गरेका छन् ।
‘संविधान त बाबुराम भट्टराई नेतृत्वको सरकार नै संवैधानिक छ, यो सरकारले पठाएका अध्यादेशहरु स्वीकृत गरेर चुनावमा जान सकिन्छ’ महासचिव राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’तर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु हुँदैन भनेका छौं ।’
संघीय समाजवादी पार्टीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । उसले संविधानसभाबाटै संविधान जारी गर्नु पर्ने, अघिल्लो संविधानसभामा रहेको समानुपातिकतर्फको प्रतिनिधित्वको अनुपात कायमै राखिनु पर्ने र निर्वाचन क्षेत्रको पुनर्संरचना गर्नु पर्ने माग पनि पेश गरेको छ ।

No comments:

Post a Comment