२५ फागुन, काठमाण्डौं । राजनीतिक निकासका लागि छलफल जारी राखेका प्रमसख दलका शीर्ष नेताहरुले आज सहमतिका प्याकेजलाई अन्तिम रुप दिने भएका छन् । प्रमुख चार राजनीतिक शक्ति एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुले दलहरुबीचको सहमतिलाई आज अन्तिम रुप दिने भएका हुन् ।
दलहरुबीच प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने बारेमा छलफल जारी रहेको छ भने, दलहरुबीच रहेका विवादका विषयमा पनि करिब करिब सहमित नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।
बिहीबार बसेको प्रमुख दलको बैठकबाट बाहिरीनेक्रममा नेताहरुले नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा बाहेकका विषयमा करिब सहमति भइसकेको दावी गरेका थिए ।
प्रमुख दलको बैठक अघि चार दल सम्मिलित कार्यदलको बैठक बसी साँझसम्ममा निकास निकाल्ने कार्यदलका सदस्य तथा एमाले नेता भीम रावलले जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बस्दैछ ।
कार्यदल र शीर्ष नेताबीच सहमति भए आज वा भोलिसम्ममा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको रुपमा शपथ खुवाउने तयारी दलहरुले गरेका छन् । प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिननहुनेभन्दै परेका दुई ओटा रिटको सुनुवाई भने चैत १ गत्तेको लागि सारिएको छ ।
यो समाचार पनि पढ्नुहोस् ।
खिलराजको मुद्दा चैत्र १ सम्म सर्यो
२४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ ।
जंगमद्वारा दायर रिट आज न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो । आज अन्तिम सुनुवाइ गर्ने भनए पनि अर्को यस्तै प्रक्रियाको मुद्दामाथि चैत्र १ गते सुनुवाइ हुने भएकाले दुबै मुद्दालाई एकसाथ विशेष इजलासबाट पेश गर्ने आदेश अदालतले गरेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर जंगमको जस्तै प्रकृतिको रिटमाथि सुनुवाइ चैत्र १ मा विशेष इजलासबाट हुँदैछ । अर्याल र जंगम दुबैका रिटमाथि १ गते सँगै सुनुवाइ हुने भएको छ । गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ ।
प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतत्वमा चुनावी सरकार बनाउन प्रमुख राजनीतिक दलहरु सैद्धान्तिकरुपमा सहमत भए पनि यसबारे अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा सबैले चासोपूर्वक हेरिरहेको अवस्थामा यो मुद्दा एक गतेलाई सरेको हो ।

No comments:
Post a Comment