अध्यक्ष, राष्ट्रिय जनमोर्चा
० शनिबार नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक बसेको थियो, त्यहाँ के छलफल भयो ?
मंसिर ८ देखि राष्ट्रपतिबाट सहमतिको सरकार गठनको आह्वान भए पनि सहमतिको सरकार गठन हुनै सकेन । यसैक्रममा शनिबार नयाँ बानेश्वरमा विपक्षी १०/१२ दलको बैठक बसेको थियो । खास गरेर शनिबारको बैठकमा माओवादीले चुनाव पनि गराउँदैन, सहमति पनि गर्दैन । यति गरिसकेपछि अब संघर्षको विकल्प छैन । एमाओवादीले नयाँ-नयाँ पासो फाल्छ र त्यसो पासो र षड्यन्त्रमा अरु पार्टीहरु पनि जान अञ्जानमा फस्दै गएका छन् । अब एमाओवादीलाई संघर्षविना सत्ताबाट झार्न सकिँदैन भन्ने कुरा कांग्रेस, एमालेले महशुस नगर्नु आश्चर्यको कुरा हो भन्ने हामीले बैठकमा राख्यौं ।
० भनेपछि अब आन्दोलन नगरी हुँदैन भन्ने तपाईहरुको निश्कर्ष हो ?
हो । एमाओवादीले जे बाहनाबाजी गरे पनि मुख्यरुपमा राजनीतिक पार्टीहरुलाई अल्मल्याएर, खेलाएर, फुटाएर र गलाएर आफ्नो सत्ता लम्ब्याउन चाहन्छ । त्यसैले कुनै प्रकारले माओवादीले फालेका जालमा पर्नु निरर्थक र यसले देशलाई बर्बाद पार्छ भन्नेमा प्रायः सबै सहमत भएका छन् ।
० प्रधानमन्त्री फेर्न राष्ट्रपतिलाई दलहरुले लेखेर दिनुपर्छ भन्नेबारे बानेश्वर बैठकमा एमाले नेता माधव नेपालले प्रस्ताव गर्नुभएको हो ?
यसबारेमा पनि छलफल भयो ।
० विपक्षी दलहरुले अझैसम्म पनि आन्दोलनमा जानुको साटो राष्ट्रपतिबाटै आश गरिरहेका हुन् ?
राष्ट्रपतिसँग आश गर्नुभन्दा पनि माओवादीले जेजे नयाँ एजेन्डा फाल्छ, त्यही एजेन्डा बोकेर हिँड्छन्, कांग्रेस र एमालेका साथीहरु । एउटा एजेन्डा फाल्दियो माओवादीले भने त्यसैलाई पत्याएर एमाले पनि हिँड्छ, कांग्रेस पनि हिँड्ने गरेको छ । यस्तो भ्रम पालेर किन हिँड्ने ?
० शीतलनिवासमा भएको पछिल्लो सर्वदलीय बैठकमा राष्ट्रपतिको भनाइ खासमा के थियो ?
राष्ट्रपतिले नयाँ महत्वपूर्ण कुरा के भन्नुभएको छ भने तपाईहरु सत्तापक्ष र प्रतिपक्ष सहमति गरेर आउनुहुन्न भने मबाट अध्यादेश स्वीकृत गराएर मबाट तपाईहरुले अब शासन गर्न पाउनुहुन्न । तपाईहरुलाई शासन चलाउन जुनजुन अध्यादेशको खाँचोपर्छ त्यो जारी गरिरहने काम अब मबाट हुँदैन भन्नुभएको छ राष्ट्रपतिले । तपाईहरुले सहमति गरेर लु यो अध्यादेश जारी गरेर मुलुकलाई निकास दिनुपर्यो भन्नुहुन्छ भने मैले जारी गर्नैपर्छ, होइनभने सरकारलाई जुन कुराको खाँचो पर्छ, त्यही चाँहि स्वीकृत गर्नुपर्यो भन्दैमा मबाट हुँदैन भन्नुभयो ।
० आन्दोलनमा जाने त भन्नुभयो, आन्दोलनको कार्यक्रम कहिले बनाउँछन् त विपक्षीले ?
सोमबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको छ । आइतबार नै बस्ने भनेको तर, ड्यास माओवादीलाई पनि पर्खनुपर्ने भएकाले सोमबार बैठक गर्ने भनिएको हो । ड्यास माओवादी पनि आन्दोलनमा जानका लागि तयार छ । आन्दोलनमा उसलाई पनि सामेल गर्नुपर्छ । किनभने शक्ति त चाहियो नि । ड्यास माओवादी, कांग्रेस र एमालेसमेत मिलेर आन्दोलनमा जानुपर्छ ।
० उपेन्द्र यादवहरु पनि तपाईहरुको मोर्चामा आएका हुन् ?
उपेन्द्र यादव, शरतसिंह भण्डारी, रोहित पनि बैठकमा आए । विस्तारै अब धु्रबीकरण हुँदैछ । नेताहरुको घैँटामा घाम लाग्न थालेको छ ।
० दैलेख घटनाबारे राष्ट्रिय जनमोर्चाको धारणा के हो ?
हामीले त यसबारेमा विरोध प्रदर्शन नै गरेका छौं । हत्यारालाई कारवाही नचलाउन प्रधानमन्त्री बोलेकै दिन हामीले सबैभन्दा पहिले राष्ट्रव्यापीरुपमा विरोध गरेका हौं । मैले नै नयाँ बानेश्वरमा भाषण गरें । हामीले दोषीलाई तुरुन्त कारबाही हुनुपर्छ, प्रधानमन्त्रीबाट गैरजिम्मेवार कुरा गर्न पाइँदैन भनेका छौं । अहिले पनि दैलेखमा भैरहेको आन्दोलनमा राष्ट्रिय जनमोर्चा अगाडि नै छ ।
० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ?
चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ । साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले, ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् ।
० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ?
हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।
० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ?
यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन ।
० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ?
हो । मानवताविरोधी अपराध गर्ने, यद्ध अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।

No comments:
Post a Comment