Thursday, January 31, 2013

चन्दा माग्दै एमाले अध्यक्ष खनाल घरदैलोमा


१८ माघ, इलाम । नेकपा एमाले अध्यक्ष झलनाथ खनाल इलाममा चन्दा संकलनका लागि विहीबार आयोजित घरदैलो अभियानमा सहभागी हुनुभएको छ । जिल्लामा निर्माण हुन लागेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि आर्थिक सङ्कलन सहयोग समितिले आयोजना गरेको घरदैलो अभियानमा अध्यक्ष खनाल सहभागी हुनुभएको हो ।
इलामको सुकिलुम्बामा निर्माण गर्न लागिएको विमानस्थलका लागि इलामवासीहरुले आर्थिक संकलन सहयोग समिति गठन गरेर आर्थिक सहयोग जुटाउँदै आएका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला पुगेका बेला खनालले आफ्नो गृहजिल्लाको विकास अभियानलाई साथ दिनुभएको हो ।
उक्त विमानस्थल निर्माणका लागि चाहिने ३ सय २५ रोपनी जग्गा मध्ये २ सय ६६ रोपनी जग्गा खरिद गरिसकिएको र बाँकी रहेको ६२ रोपनी जग्गा खरिद गर्नका लागि आर्थिक अभियान सञ्चालन गरेको विमानस्थल निर्माण समितिले जनाएको छ ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल जग्गा व्यवस्थापन समिति अन्तर्गतको आर्थिक समितिका संयोजक रहनुभएका हिमालय कर्मचार्यले भन्नुभयो ‘गत बर्ष दुईसय ६६ रोपनी जग्गा खरिद गरेका छौं, उक्त जग्गाको मुआव्जा र भौतिक संरचनाको क्षतिपूर्ति बापत १ करोड ८० लाख रुपैयाँ तिरेका छौं, अब बाँकी ६२ रोपनी जग्गा खरिद गर्न बाँकी रहेकाले सो जग्गा खरिद गर्न चाहिने एक करोड रुपैयाँ संकलन गर्ने अभियानमा लागेका छौं ।’
विमानस्थलका लागि आवश्यक रकम मध्ये जिल्ला विकास समिति र गाउँविकास समितिले ५० प्रतिशत रकम भुक्तानी गर्ने, नगरपालीकाले ३० प्रतिशत भुक्तानी गर्ने र बाँकी रहेको रकम जनताको घरदैलोबाट संकलन गर्ने अभियानमा आफुहरु लागेको कर्मचार्यले जानकारी दिनुभयो ।
कात्तिकमा निर्वाचन हुन सक्छ 
एमाले अध्यक्ष खनालले विहीबार पत्रकारसँग कुरा गर्दै एमाओवादी नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने चेतावनीसमेत दिनुभयो । खनालले एमाओवादी पार्टी वार्ताको वातावरण नबनाई उल्टै मुठभेडमा उत्रिएकाले विपक्षीहरु आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँले दलहरूबीच सहमति भयो भने आगामी कात्तिकमा निर्वाचन हुन सक्ने बताउनुभयो ।

No comments:

Post a Comment